-भुपेन्द्र काफ्ले |

“ हेल्लो ! युथ फर ब्लड । ”

 “सर,म लाईफलाईन अस्पताल, दमकबाट बोल्दैछु । मलाई ’ए नेगेटिभ’ रगत चाहीएको छ ।”

“ए नेगेटिभ’ रगत भन्नुभयो, त्यो पनि यत्ति राति । पाउन त समस्या हुन्छ त । के भएको बिरामीलाई ?”

“ प्रेग्नेन्सी  हो सर, कतै पाइएन । हजुरहरु नै अन्तिम विकल्प हुनुभयो सर । कसैगरी सहयोग गर्नु पर्यो ।”

 “त्यहाँ ब्लड बैङ्कमा फोन दिनुस त ।”

 “हजुर भाई ?”

“ सिस्टर त्यहा ’ए नेगेटिभ’ चाहिएको रहेछ, कत्तिको क्रिटिकल छ ?“

“भाई म भित्र पठाइदिन्छु उतै बुझ्नुस न है।”

यति भनिसक्दा फेसबुक म्यासेन्जर खोलेर युथ फर ब्लड झापाको च्याट ग्रुपमा खबर गरिसकेको थिएँ । त्यहाँ बिट्टु चेम्जोङ्ग सरको रिप्लाइ आयो । विरामीको अवस्था चिन्ताजनक छ भनेर म्यासेज गरेँ । त्यति समयमा पुनः फोन आयो, त्यहा फिमेल वार्डवाट सिस्टर बोल्दै हुनुहुन्थ्यो ।

“भाई, अवस्था खराब छ । रिफर गर्न पनि खतरा छ । हिजोको डेट थियो, आज मात्र एड्मिट भयो । हेमोग्लोबिन ८ पोइन्ट मात्र छ । रगत आधा घण्टामा जुटाउनुस ।”

उहाँले एक्कै सासमा यति भनिसक्दा मेरो ओठ सुकिसकेको थियो किनकी अघिल्लो शनिबार ’ए नेगेटिभ’ रगत नपाउदा एउटा ज्यान गोबिन्दराज कट्टेल सरको आकस्मिक रक्तदान गराएर बचाएका थियौँ । सोही बिरामीलाई लगातार रगत उपलब्ध गराउदै गर्दा लगभग सबै रक्तदाता सकिएका थिए । हुन त असोजको सुरुबाट नै नेगेटिभ रगतका रक्तदाताको अभाब थियो । अब बिकल्प खोज्नु थियो । त्यो भन्दा पनि ठुलो कुरा त म अस्पताल पुग्नु थियो । जसले बिरामीको आफन्तलाई ठुलो आड हुन्थ्यो । उता बिट्टु सरलाई कल गरेर म घरबाट निस्किएँ । अर्को तिर राजेस कार्की सरलाई फोन गरेर सबै रजिस्टरका नम्बरमा कल गर्न भनेँ । यस्तै अवस्था चाड पर्वमा आउछ भनेर रक्तदाता नामावलीको रजिस्टर राजेस सरलाई दिएको थिएँ, उता बिट्टु सरले पनि ठुलो भरोसा दिलाएर भन्नु भएको थियो कि हामी मिलेर समस्या सामना गर्नुपर्छ । घरबाट बाहिर निस्किएपछी मात्र सम्झिएँ कि बाटोमा प्रहरीले शंका गर्न सक्छ, बरु स्वयमसेवक परिचय पत्र बोक्नु पर्छ । सोही कुरा बिट्टु सरलाई पनि सम्झाएँ । दमक चोक पुग्दा छेउमा नै टल्किएको डिजिटल बोर्डको घडिले रातको ११ः२६ को जनाउ दिदै थियो, तापक्रम २० डिग्री सेल्सीयस । शरिरमा दिउसो लगाएको लुगामा नै थिए, मनको ढुकढुकीले नसा छेड्न खोज्दैथियो । बाटोमा बिट्टु सर भेटीएपछी फोन ट्राई गर्दै गयाँै । सबै प्राय नम्बर बन्द थिए, नगन्य उठेका नम्बरमा औसधी सेवन र समय नपुगेको खबर आउदै थियो । अस्पताल पुग्दा सम्म कुनै समाधान नपाएपछी गौरब राई सर संग सम्पर्क गर्याँै, त्यसपछी मिनेस सापकोटा, सन्तोस अधिकारी, विकास सापकोटा साथै अन्य । या त कोही रक्तदाता उपलब्ध नभएका खबर आउथे वा फोन अफ । बिरामीको आफन्त चिन्तित थिए, नर्सहरु रगतका लागी दवाव दिदै थिए । कुनै पनि विकल्प बाँकि रहेनन् । लाग्यो, बिरानगर सम्पर्क किन नगर्ने ? सबिन दाहाल सरसंग सम्पर्क भयो, सहयोग गर्न प्रयास गर्ने बताउनु भयो । फेरी प्रयास गरे मेचीनगरमा रबिन चापागाई सरलाई । उहाले पनि उपलब्ध नभएको बताउनु भयो । त्यतिन्जेल बिट्टु सर आफ्नो र अफिसियल दुबै नम्बरबाट सम्पर्क गर्दै हुनुहुन्थ्यो भने राजेस सर र गौरब सरले नम्बर लगातार पठाउदै हुनुहुन्थ्यो तर सबै प्रयास ब्यर्थ हुँदै थिए । सायद रातको १२ः४०;बाट फोन गर्नुभयो र मनोज थापा नाम गरेका एकजना रक्तदाता भेटिएको खबर दिनुभयो। बल्ल केही राहत महसुस भयो तर रक्तदातालाई दमक ल्याउने कसरी भन्ने अर्को समस्या थपियो । मिनेस सरले नै मोटरसाइकलको व्यवस्था मिलाएर रक्तदातालाई दमकसम्म ल्याएपु¥याइयो र रातको करीब १ः३० बजे मनोज थापा सरको रक्तदान भयो ।  रक्तदान पश्चात हामीले विरामीको श्रीमान्सँग विदा माग्यौ र धन्यवाद लिएर घर फर्कियौँ । निद्रा मजाले लागेन किनकी विरामीको अवस्था एकदमै जोखिमपूर्ण थियो र शल्यक्रिया पछि पनि रगत आवश्यक पर्न सक्ने उतिकै सम्भावना । विरामीको सफल सल्यक्रियाको कामना गर्दै अन्य रक्तदाता खोज्न विहान प्रयास गर्ने विचारले सुतँे ।  विहान ९ः४० तिर विरामीको श्रीमान्ले सल्यक्रिया सफल भएर आँफू छोरीको बुवा भएको जानकारी दिदै थप रगत आवश्यक पर्ने सम्भावना तत्कालकोलागि नरहेको जानकारी दिनुभयो । र युथ फर ब्लड झापालाई धेरै धन्यवाद दिदै आवश्यक परेको खण्डमा आफ्नो बी पोजेटिभ रगत दिन जुनसुकै समयमा पनि तयार रहेको कुरा गर्नुभयो । मैले पनि उहाँलाई बधाई दिएँ साथै बी पोजेटिभ रगत आवश्यक परेमा सम्झने कुरा बताएँ ।

लेखक युथ फर ब्लड झापाका महासचिब हुन् |

Leave a Comment